•   Sunday, 20 Oct, 2024

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

this
Generic placeholder image
  

१७ मंसिर, काठमाडौं । करिब ५ महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को नियमित छपाइ थाल्न अझै एक महिना लाग्ने भएको छ । यसले गर्दा छाप्न बाँकी लाइसेन्सको संख्या पनि थप बढ्दै गएको छ ।

यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै साढे १३ लाख भन्दा माथि छ । एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्ने कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि नियमित लाइसेन्स छपाइ ठप्प छ ।

दैनिक रूपमा प्रदेश अन्तरगतका लाइसेन्स कार्यालयहरूले परीक्षा लिएर सवारी चालक अनुमतिपत्रको छपाइका लागि प्रक्रिया पूरा गरिरहँदा सरकार भने सीमित संख्याको कार्डको उपलब्धताका कारण वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूलाई मात्रै कार्ड छापेर दिइरहेको छ । अन्य नियमित प्रक्रियाबाट लाइसेन्स पाउने आशा गरिरहेका थुप्रै सवारी चालकहरू लाइसेन्सविहीन छन् ।

विभागका महानिर्देशक उद्धबप्रसाद रिजालका जर्मनीको म्युहलबाअर कम्पनीले १२ लाख कार्ड आपूर्ति गर्ने गरी भएको सम्झौता अनुसार यही डिसेम्बर महिनाभित्रै कार्ड आपूर्ति सुरु हुनेछ ।

४ महिनाअघि नै सम्झौता भएपनि लाइसेन्स प्रणाली चलाइरहेको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले जर्मन कम्पनीको कार्डलाई प्रणालीमा फिट हुने गरी पर्सनलाइजेसन गर्न समय लगाएको थियो । यसले गर्दा कार्डको आपूर्तिको अर्डर समेत प्रभावित भएको थियो ।

पर्सनलाइजेसनको काम सकेर करिब २ महनिाअघि जर्मन कम्पनीलाई कार्ड आपूर्ति सुरु गर्न ९० दिनको समय दिइएको महानिर्देशक रिजालले बताए । ‘कार्ड आउनासाथ छपाइ सुरु हुन्छ,’ उनले भने,‘हामहीसँग घण्टामा ५ सय कार्ड छाप्ने मेसिन छ ।’

हाल देशभर दैनिक ३ देखि ५ हजारले लाइसेन्स परीक्षा पास तथा नवीकरणका लागि प्रक्रिया पूरा गर्छन् । सबै छपाइको काम विभागले नै गर्ने भएकाले प्रक्रिया पूरा गरेका लाइसेन्स छाप्न चरम ढिलाइ हुने अवस्था देखिएको छ ।

विभागले लाइसेन्स छपाइमा ढिलाइ भएपछि सवारी चालकहरूलाई एक वर्षका लागि क्युआर कोड सहितको अस्थायी लाइसेन्स दिने गरेको छ । तर, यस्तो एक वर्षको अवधि सकिंदासम्म पनि सरकारले लाइसेन्स छापेर दिन सकेको छैन । सरकारले लाइसेन्स छपाइमा ढिलाइ गर्दा लाखौं सवारी चालकहरू मर्कामा पर्दै आएका छन् ।

विभागले हाल करिब साढे १५ लाख लाइसेन्स छाप्ने कार्ड र एउटा मास प्रिन्टर खरिदका लागि टेन्डर गरेको छ । यो प्रक्रिया सकिएपछि छपाइ क्षमता दोब्बर हुने र छाप्न बाँकी लाइसेन्स पनि छिट्टै छापिएर वितरण हुने महानिर्देशक रिजालले बताए ।

‘प्रदेशहरुले पनि यो वर्ष कार्ड र छपाइ मेसिन किन्न बजेट राखेका छन्,’ उनले भने,‘प्रदेशहरुलाई पनि हामी ती मेसिन र कार्ड खरिदका लागि सहजीकरण गरिरहेका छौं, लाइसेन्सको छपाइको जिम्मा प्रदेशहरुले आफैं लिएपछि अहिलेको सबै समस्या हल हुन्छ ।’


Source: Online Khabar
Comment As:

Comment (0)