•   Sunday, 20 Oct, 2024

कोप २८ बाट सन्तुष्ट छु : प्रधानमन्त्री प्रचण्ड

this
Generic placeholder image
  

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप–२८ बाट आफू सन्तुष्ट रहेको बताएका छन् । नेपालले पर्वतीय मुलुकहरुको नेतृत्व गर्दै आफ्नो मुद्दा जोडदारसँग राखेको भन्दै उनले राम्रै आर्थिक सहयोग आउने दाबी गरे ।

दुबईमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘म सन्तुष्ट छु, जस्तो होस् भनेको हो, त्यस्तै भयो ।’

सम्मेलनभन्दा अगाडि राष्ट्रसंघका महासचिवले गरेको नेपाल भ्रमणको विश्वव्यापी प्रभाव परेको पनि उनले बताए । ‘मेरो अध्यक्षतामा जुन राउण्ड टेबल भयो, सबैले नेपालको प्रशंसा गर्नुपर्ने भयो’ उनले भने, ‘मूल स्टेटमेन्ट पनि यो पटक हामी माग्न आए जसरी निरीह भएर प्रस्तुत हुने होइन । अधिकारको निम्ति योद्धा जसरी प्रस्तुत हुने भनेको थिएँ, त्यस्तै भयो ।’

नेपालले पर्वतीय मुलुकको नेतृत्व गरेको र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि नेपाललाई प्राथमिकतामा राखेकाले आर्थिक सहयोग आउनेमा ढुक्क रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । सम्मेलनबाट आफू सन्तुष्ट रहेको भन्दै उनले भने, ‘पोलिसी लेभलमा हाम्रो बलियो उपस्थिति भयो । अब नेपाललाई माइनस गर्न सक्दैन ।’

जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिका लागि आउने आर्थिक तथा प्राविधिक सहायता पहिला भन्दा बढ्ने उनले दाबी गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘क्षतिपूर्ति कति, के भन्ने चाहिं अब बल्ल छलफल हुन्छ ।’

जलवायु परिवर्तनले पारेको असरको विषय पहिलेभन्दा गम्भीर ढंगले उठाएको, विकसित देशहरुले पनि त्यसअनुसार नै प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले सुनाए । राष्ट्रसंघका महासचिवले पनि अन्तिम मौका हो भनेको भन्दै उनले भने, ‘सहभागी सबैको यो सम्मेलन प्रभावकारी, परिणममुखी हुन्छ भन्ने धारणा पाएँ ।’


Source: Online Khabar
Comment As:

Comment (0)