•   Sunday, 20 Oct, 2024

बढ्यो गिद्धको सङ्ख्या

this
Generic placeholder image
  

नवलपुर । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ । गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुराँका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको छ ।

“रेष्टुराँ सुरु गर्ने बेलामा यहाँ सात प्रजातिका ७७ वटा गिद्ध गणना गरिएको थियो”, उनले भने, “हामीले गरेको पछिल्लो अध्ययनअनुसार यहाँ आठ प्रजातिका पाँच सय १७ गिद्ध तथा यस क्षेत्रबाट गिद्धका एक सय वटा गुँड रेकर्ड गरिएको छ ।” समुदाय, सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगका कारण गिद्ध संरक्षणको अभियान सफल भएको उनको भनाइ छ ।

नेपालमा पछिल्लो समय अन्य छ ठाउँमा जटायु रेष्टुराँ विस्तार गरिएको जनाउँदै अध्यक्ष चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग पु-याएका बताए ।

समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुराँलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको उनको भनाइ छ ।

“नेपाल सरकारले गिद्धको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो”, उनले बताए, “त्यहाँ प्रजनन भएका गिद्ध नवलपुरमा ल्याएर हुर्काएपछि रेडियो कलर जडान गरेर प्रकृतिमा छोड्ने गरिएको थियो ।”

हालसम्म केन्द्रमा प्रजनन भएका ६९ गिद्ध रेष्टुराँमा ल्याएर छोडिएको उनले जानकारी दिए। त्यस्तै ७७ जङ्गली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको उनको भनाइ छ ।

जटायु रेष्टुराँमा छोडिएको गिद्ध खानाका लागि प्रतिदिन दुई सय किलोमिटरसम्म उडेको अध्ययनले देखाएको उनले बताए ।

केन्द्रमा प्रजनन भएर रेष्टुराँमा ल्याइएको र यहाँको प्रकृतिमा हुर्किएका गिद्धले मिलेर प्रजनन गर्न सुरु गरेको अध्यक्ष चौधरीले बताए ।

प्रजननयोग्य गिद्धको एक वर्षमा एउटा प्रजनन अवधि हुने तथा एउटा मात्रै फूल पार्ने उल्लेख गर्दै उनले भाले र पोथी दुवै मिलेर बच्चा कोरल्ने बताए ।

गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ ।

“छाडा छोडिएको गाईबस्तुलाई ल्याएर राख्ने उनीहरुको मलमूत्रबाट बायो ग्यास, जैविक विषादी, जैविक मल बनाउने र उनीहरु मरेपछि गिद्धको आहारमा प्रयोग गर्ने गरी हामी अघि बढेका छौँ”, उनले भने, “यति गरेपछि गिद्धको संरक्षण हुन्छ र गिद्धको संरक्षणपछि गिद्ध पर्यटन अथवा जैविक विविधता पर्यटन सुरु गर्ने तयारी गरेका छौँ ।”

संरक्षणलाई पर्यटनसँग जोड्दा पर्यापर्यटनमा रोजगारी र व्यवसायको वातावरण सिर्जना हुने उल्लेख गर्दै उनले यसबाट जनचेतना फैलाउने हुँदा संरक्षणमा दिगोपना ल्याउने बताए ।

कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुराँमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति (हाडफोर बाहेक)का गिद्ध पाइने अध्यक्ष चौधरीले बताए ।

उनका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडे गिद्ध रहेका छन् ।

समुदायले व्यवस्थापन गरेको यस जटायु रेष्टुराँमा गिद्धलाई नियमितरुपमा आहारा (मासु) खुवाउने गरिएको छ ।

गिद्धलाई आहारा खुवाउने दिनमा पर्यटनसँग जोडिएका सङ्घसंस्थाको सहकार्यमा गिद्ध पर्यटनको अवधारणा अघि बढाउने तयारी गरिएको छ ।

“रेष्टुराँ व्यवस्थापन समितिले यहाँ हरेक दुई दिनमा गिद्धलाई मासु खुवाउने गर्दछ”, उनले भने, “उनीहरुले प्राकृतिक रुपमा पनि मासु खाने गरेका छन् तर यहाँ प्रजनन केन्द्रमा प्रजनन भएका साना गिद्ध पनि भएकाले हरेक दुई दिनमा मासु खुवाउने गरिएको हो ।” पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको बासस्थानमा ह्रास आएको उनको भनाइ छ ।


Source: News24Nepal
Comment As:

Comment (0)