•   Saturday, 19 Oct, 2024

मानवअधिकार आयोगमा विवाद, सदस्य मिहिर ठाकुरको कार्यकक्षमा ताला

this
Generic placeholder image
  

१८ मंसिर, काठमाडौं । सचिव नियुक्तिको विषयलाई लिएर सुरु भएको राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेको छ ।

आयोगका सदस्य मिहिर ठाकुरले अरु पदाधिकारी र कर्मचारीहरुमाथि विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा टीकाटिप्पणी गरिरहेका छन् ।

त्यसको प्रतिवादमा आयोगका अध्यक्ष तपबहादुर मगरले विज्ञप्ति नै निकालेर ठाकुरको ‘घृणायुक्त अभिव्यक्ति’ आचारसंहिता विपरीत भएको उल्लेख गरे ।

‘सुरुमा सामान्य मतभेद थियो, यसरी बाहिर छरपस्ट भएको थिएन’, आयोग स्रोतले भन्यो, ‘सचिव नियुक्तिका बेलामा सुरु भएको विवाद उत्कर्षमा पुगेपछि सदस्य ठाकुरले जथाभावी अभिव्यक्ति दिने र अरु सदस्यहरुले प्रतिवाद गर्ने अवस्था भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा नै छरपस्ट हुने गरी आक्रोश व्यक्त भएको छ ।’

आयोगको रिक्त सचिव पदमा हालका कामु सचिव मुरारीप्रसाद खरेल, बाग्मती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारी र प्रवक्ता डा. टीकाराम पोखरेल आकांक्षी छन् ।

छनौटका लागि विभिन्न आधार तय गरिएकोमा यज्ञप्रसाद अधिकारी र डा. टीकाराम पोखरेलले लेख रचना प्रकाश र शोधमा बढी अंक ल्याए । प्रस्तुतीकरण र अन्तर्वार्तामा कामु सचिव खरेलले बढी अंक ल्याए । समग्रमा सहसचिव अधिकारी र खरेलको बराबरी प्राप्तांक भएपछि कार्यदलले खरेलकै नाम सिफारिस गरेको छ ।

त्यसप्रति असन्तुष्ट दुई प्रतिस्पर्धीहरुले मानवअधिकार आयोगकै बोर्ड, प्रधानमन्त्री कार्यालय लगायतका निकायमा उजुरी दिएका छन् ।

‘सबै कुरा प्रक्रियासम्मत चल्दै गएको बेलामा सदस्य ठाकुरले यसलाई सचिव बनाउनुपर्छ, यसलाई हुँदैन भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभयो’ आयोग स्रोतले भन्यो, ‘त्यसपछि सार्वजनिक रुपमा नै आरोप प्रत्यारोप हुन थालेको हो । अहिले त्यो उत्कर्षमा पुगेको छ ।’

केही सातादेखि आयोगका काम कारवाही, पदाधिकारी र कर्मचारीहरुमाथि निरन्तर आक्रोश पोखेका ठाकुरले त्यहाँभित्र चरम बेथिती रहेकाले आफूले आवाज उठाएको प्रतिक्रिया दिए ।

‘आयोगभित्र रहेका भ्रष्ट तत्वहरु विरुद्ध मैले आन्दोलन गरेको हुँ, त्यहाँ बेथिती भएकाले बोल्नु परेको हो’ उनले अनलाइनखबरसँग भने, ‘कर्मचारी नियुक्ति गैरकानुनी छ भनेर लोकसेवा आयोगका अध्यक्षले मलाई भन्नुभएको छ । आयोगका पदाधिकारीहरुले यो कुरा सुन्दैनन् । सबैलाई झ्यालबाट छिरेर लाभ लिन पाए पुग्छ । त्यही बेथिति विरुद्ध बोलेको हुँ ।’

उनले आयोगका कामू सचिव खरेलको बर्खास्ती हुनुपर्ने भनी सामाजिक सञ्चालमा आक्रोश पोखेका छन् । अनि केही कर्मचारीहरुको नाम लिएर यौन दुर्व्यवहारमा संलग्न भएको आरोप लगाएका छन् ।

सदस्य ठाकुरले चर्को अभिव्यक्ति दिन थालेपछि आयोगभित्र गठन भएको कर्मचारी क्लबले भेला गरेर सदस्य ठाकुरको कार्यकक्ष नै तालबन्दी गर्ने निर्णय गरेको थियो ।

क्लबमा आवद्ध कर्मचारीहरुले सदस्य ठाकुरको कार्यकक्षमा १५ मंसिरमा तालाबन्दी गरे । उनले माफी नमागेसम्म कार्यकक्षमा पस्न नदिने चेतावनी दिए । प्रतिक्रियास्वरुप सदस्य ठाकरले कार्यकक्ष बाहिर टाँसिएको विज्ञप्तिको फोटो खिचेर सामाजिक सञ्जालमा राखिदिए अनि ‘भ्रष्ट प्रवृत्तिलाई संरक्षण गर्न खोजिएको’ भनी प्रतिक्रिया लेखे ।

आइतबार मानवअधिकार आयोगका सदस्य तपबहादुर मगरले सदस्य मिहिर ठाकुरको भनाइमा विश्वास नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरे । ठाकुरको अभिव्यक्तिले आयोगका पूर्वपदाधिकारी, कर्मचारीको गरिमा र मर्यादामा असर परेको उनले उल्लेख गरेका छन् । आयोगका एक कर्मचारीका अनुसार, सदस्य ठाकुरलाई बोलाएर सम्झाउँदा समेत संयमित नभएपछि आयोगका अध्यक्षले विज्ञप्ति निकालेका हुन् ।

अध्यक्ष तपबहादुर मगरले मगरले ठाकुरको अभिव्यक्तिबाट मानवअधिकारकै उल्लंघन भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । अनि ठाकुरले व्यक्त गरेका अपुष्ट विवरणबाट भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘पछिल्लो समय आयोगका कर्मचारीलाई लक्षित गरी आएका अपुष्ट विषयवस्तु र शब्दहरुलाई मानवअधिकारमैत्री मान्न सकिंदैन’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट संविधानले परिकल्पना गरेको उच्च नैतिक चरित्रमा ह्रास आउनुका साथै मानवअधिकार आयोगको आचारसंहिताको समेत पालना हुनसकेको देखिएन ।’


Source: Online Khabar
Comment As:

Comment (0)