•   Saturday, 19 Oct, 2024

सुख्खा बन्दरगाहमा दुई महिनादेखि अलपत्र ४०० कन्टेनरमा के छ ?

this
Generic placeholder image
  

१८ मंसिर, काठमाडौं । वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा दुई महिनादेखि करिब चार सय कन्टेनर जाँचपास नगरी अलपत्र छोडिएपछि भन्सार विभागले तिनको छानबिन थालेको छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विभिन्न समयमा आएर बसेका तर यार्डमा थन्किएका यस्ता ३९१ वटा कन्टेनर फेला परेका छन् ।

सरकारले आयातमा परिमाणत्मक बन्देज लगाएको सुपारी, केराउ, मरिच लगायतका वस्तुहरु ती कन्टेनरमा रहेको आशंका लागेकाले छानबिन सुरु भएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

ती कन्टेनरहरुको सामान भन्सार जाँचपासका लागि आउन आयातकर्ताहरुलाई सार्वजनिक सूचना जारी गरिए पनि अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले अनलाइनखबरलाई जानकारी दिए ।

मैनालीका अनुसार सुख्खा बन्दरगाह प्रिस्टन नामक निजी कम्पनीले सञ्चालन गर्छ । ‘कम्पनीमा भित्रिएका सामानको जाँच पासका लागि आएपछि मात्रै भन्सारले जाँचपास प्रक्रिया थाल्ने हो,’ उनले थपे, ‘जाँच पासको प्रक्रियामा नरहेको तर भन्सार यार्डमा आएर ६० दिन भन्दा बढी समय थन्किएका यस्ता सयौं कन्टेनर भेटिएका छन् ।’

६० दिनभन्दा बढी भन्सार यार्डमा रहेका यस्ता कन्टेनरहरु जफत गर्न भन्सार ऐनले सुविधा दिएको छ । त्यस व्यवस्थाअनुरुप १० मंसिरमा भन्सार कार्यालयले भन्सार पास गर्न आउन सात दिने सूचना निकालेर प्रक्रिया सुरु गरेको मैनालीले बताए ।

भन्सार कार्यालयले निकालेको सूचनाअनुसार ३९१ वटा कन्टेनरमध्ये कयौंमा प्रतिबन्धित हरियो र सुकेको केराउको दाना नै रहेको उल्लेख छ । कतिपय कन्टेनरहरुमा मोटर पार्टस् र खाद्यान्न रहेको भनिएको छ भने केहीमा विद्युतीय उपकरण र कम्प्युटर्सको पार्टस् र मदिराहरु रहेको उल्लेख छ ।

आयात प्रतिबन्ध र कोटाका वस्तुहरु छन् : विभाग

यता भन्सार विभागले भने भन्सारमा आयात प्रतिबन्धित र कोटाका वस्तुहरु रहेको जनाएको छ । विभागका महानिर्देशक शोकाकान्त पौडलले नाकामा सामान ल्याई पुर्‍याएर प्रतिबन्ध तथा कोटा खोल्न व्यवसायीहरुले लबिङ गरेको तर त्यो सफल नभएपछि आयातित वस्तु यार्डमै थन्काएको दाबी गरे ।

‘कहिलेदेखि आएको भन्ने यकिन छैन तर ती कन्टेनरमा पोस्ता दाना, मरिच सुपारी, केराउलगायत हुन सक्छन्’, महानिर्देशक पौडेलले भने, ‘उहिल्यैदेखि भन्सार नाकामा ल्याएर कोटा खुलाउन पहल गरे होलान् तर नसकेपछि उतै थन्किएको हुनुपर्छ । तर हामी सबै खोलेर हेरे पछि थप यकिन गर्छौं ।’

 

अहिले सरकारलाई राजस्वको खाँचो भएको र ती वस्तुको लिलामी गरेर पैसा जम्मा गरिने पौडेलले बताए । मंसिर १० मा ७ दिने सूचना जारी गरेर भन्सार घोषणा गरेर जाँच पासका लागि गरिएको आह्वानमा कुनै पनि व्यवसायी नआएपछि लिलामी प्रक्रिया अघि बढाउन लागेको विभागले जनाएको छ ।

बन्दरगाह सञ्चालन गर्ने निजी कम्पनीले यार्डमा सामान बसेकोबारे भन्सार प्रशासनलाई कुनै जानकारी नगराएको, व्यवसायी पनि भन्सार जाँचपासमा नआएको तर प्रतिबन्धित वस्तु रहेको केही प्रमाण भेटिएको भन्सार विभागको भनाइ छ ।

भन्सार यार्डमा कन्टेनर थुप्रिनु र त्यही बेला आयात प्रतिबन्ध लागेका र कोटा तोकिएका सुपारीलगायत वस्तुको आयात खोल्न राजनीतिक लबिङ हुनुबीच केही न केही सम्बन्ध रहेको भन्सार प्रशासनको आँकलन छ ।

सुपारी निर्यात खुलाउन लबिङ

नेपालमा उत्पादन नै नहुने सुपारी निर्यात खुलाउन संसदीय समितिहरुमा केही महिनादेखि शृंखलाबद्ध छलफलहरु भइरहेका छन् ।

साउन ११ मा नेपाल कांग्रेसकी सांसद आरजु राणा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति चुनिएलगत्तै उनले सुपारी निर्यात सहजीकरण गर्ने विषयमा छलफल चलाएकी थिइन् ।

कृषि समितिमा छलफल गराएपछि उनले यस विषयमा निर्णय गराउन संसदका तीनवटा समिति (कृषि, उद्योग, अर्थ) को संयुक्त बैठक राख्न पहल गरेकी थिइन् ।

सभामुख घिमिरेले त्यस्तो बैठक आयोजना गर्नका लागि अनुमति पनि दिएका थिए । तर १२ असोजमा बस्ने तय भए पनि सदस्यहरू अनुपस्थित हुने भएपछि त्यो स्थगित भएको छ । सो बैठक कहिले बस्ने अहिलेसम्म तय भएको छैन ।

त्यसपछि १५ कात्तिकमा संसदकै उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापतिले सुपारीको निर्यात खोल्ने निर्णय भएको भनेर सुनाइसकेका थिए । तर, त्यस्तो निर्णय गर्न नहुने भनेर सांसदहरुले आपत्ति त्यस निर्णयबाट समिति पछि हटेको थियो ।

नेपाली बजारमा अधिकतम् वार्षिक १४ हजार मेट्रिक टन सुपारी खपत हुन्छ तर नेपाली बजारमा मुस्किलले ७ हजार मेट्रिकटन मात्रै सुपारी उत्पादन हुन्छ । नेपालमा माग बमोजिमको उत्पादन नै नरहेको सुपारी निर्यात गर्न पछिल्लो ३ महिनादेखि संसदका समिति र सांसदहरुले लबिङ गरिरहेका छन् ।

यही बेला देशकै ठूलो भन्सार मध्येको एक वीरगञ्ज सुख्खा बन्दरगाहमा झण्डै ४ सय वटा शंकास्पद कन्टेनरहरु फेला पर्नु संयोग मात्रै नभएको भन्सारकै कर्मचारीहरु बताउँछन् ।


Source: Online Khabar
Comment As:

Comment (0)