•   Saturday, 19 Oct, 2024

एमालेको मध्यपहाडी यात्रा बिहीबार कास्की आइपुग्ने

this
Generic placeholder image
  

१९ मंसिर, पोखरा । मध्यपहाडी लोकमार्ग यात्रामा रहेको नेकपा एमालेको टोली बिहीबार पोखरा आइपुग्ने भएको छ ।

अध्यक्ष केपी शर्मासहितको टोली मंसिर १४ गतेदेखि बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रामा छ ।

२१ गते दिउँसो ३ बजे पर्वत हुँदै उक्त टोली कास्की प्रवेश गर्ने नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार बिहीबार पर्वतको कुश्मामा सभा गरेर टोली कास्की आउनेछ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले भने, ‘नयाँ पुलमा त्यही दिन दिउँसो ३ बजे स्वागत गरेपछि २२ गते बिहान रुपा गाउँपालिकाबाट लमजुङतर्फ बिदाइ गरिनेछ ।’ ओलीले २१ गते हेम्जामा र तालचोकमा छोटो सम्बोधन गर्नेछन् ।

संकल्प यात्रामा निस्केको टोलीलाई नयाँ पुल, अन्नपूर्ण गाउँपालिका नागडाँडा, मिलनचोक, अमरसिंह, तालबेसी, पिप्लेबजारलगायतमा स्वागत गर्ने तालिका रहेको नेकपा एमाले कास्की जिल्ला इन्चार्ज थममाया थापाले जानकारी दिइन् ।

बिहीबार साँझ अध्यक्ष ओलीसहितको टोली पोखरामै बास बस्नेछ ।

पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरिएकाले एमालेले यो यात्रालाई ‘हिरक जयन्ती’ को कार्यक्रम समेत मानेको छ । एमाले स्थायी कमिटी सदस्यसमेत रहेकी थापाले विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा जनतासँग जवाफ खोज्न अभियान थालेको बताइन् ।

मध्यपहाडीको विवादित क्षेत्रमा छैन कार्यक्रम

आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग १ हजार ८७९ किलोमिटर मिटर लामो छ । यो लोकमार्गको सबैभन्दा बढी विवादित क्षेत्र कास्कीमा छ ।

कास्कीको पोखरा महानगरपालिका–१६ र १९ पर्ने लोकमार्गमा स्थानीयकै विरोधका कारण टेन्डर प्रक्रियापछि निर्माण सुरु भइसक्दा पनि कामले गति लिन सकेको छैन भने मादी गाउँपालिकाको भैंसेदेखि लमजुङको बेंसीशहर जोड्ने ट्रयाकका विषयमा पनि विवाद यथावत छ ।

राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत पर्ने कास्की खण्डमा सुरुआतदेखि नै रेखांकन विवाद छ । पोखरा महानगरपालिकार्को वडा नं. १६ र १९ मा रेखांकन भएर ठेक्का लगाए पनि स्थानीयको आन्दोलनले काम अघि बढ्न सकेको छैन ।

गत चैत दोस्रो साता स्थानीयले आआफ्नो वडा कार्यालय बन्दमात्रै गरेनन्, संघर्ष समिति नै बनाएर एक हप्ताभन्दा बढी समय महानगरमा धर्ना नै बसे । रेखांकनको समयमा स्थानीयसँग समन्वय नगरिएको र आफूहरुलाई सुकुम्बासी बनाउने खेल भइरहेको भन्दै उनीहरुले विरोध जनाइरहेका छन् ।

रेखांकन विवादकै कारण कास्कीखण्डमा भने लामो समयसम्म काम सुरु हुन सकेको थिएन । कास्की खण्डको भैंसेको बस्ती हटाउने र रेखांकन परिवर्तन गर्नुपर्ने विषयमा लामो समयको विवाद ०७८ चैतमा समाधान भएको थियो ।

२०७७ सालमा राजमार्ग अन्तर्गतका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि संयुक्त रुपमा बैठक बसी भैंसेदेखि याम्दीसम्मको रुट परिवर्तन गरी पुनः नक्सांकन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गरेका थिए ।

उनीहरुले अनुरोध पत्रमा पोखराको वडा नं ११, १२, १३, १६ हुँदै जाँदा धेरै संरचनालाई असर पर्ने र नागरिकसमेत घरबारविहीन हुनुपर्ने औंल्याएका थिए । जसमा करिब ८०० घरपरिवार घरबारविहीन हुनुपर्ने औंल्याइएको थियो ।

सोही विषयलाई लिएर मध्यपहाडी लोकमार्ग आयोजनाले सडक रेखांकन परिवर्तन गर्न नेपाल सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

२०७७ फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सोही प्रतिवेदनलाई आधार मानेर भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको बाटोको नयाँ रेखांकन पास गरेको थियो । तर, परिवर्तित रेखांकनको विषयलाई लिएर पुनः पोखरा महानगरपालिका १६ र १९ का बासिन्दा विरोधमा उत्रिँदै आएका हुन् ।

कास्की अन्तर्गत राजमार्गको ३५ किलोमिटर काम ३ वर्षभित्र सक्ने गरी ‘स्वच्छन्द एपेक्स जेभी’सँग ठेक्का सम्झौता भएको छ । कुल ३ अर्ब ४२ करोड रुपैयाँमा ठेक्का पाएको ठेकेदार कम्पनीले काम सुरु गरेको महिना दिन नबित्दै विवाद सुरु भयो र काम रोकिएको छ ।

सडक विस्तारमा ढिलाइ हुँदा दुर्घटना बढेको भन्दै स्थानीय बासिन्दाकै अर्को समूहले पनि आन्दोलन गरिरहेको छ ।उनीहरुले काम छिटो सक्न जिल्ला प्रशासन कार्यालय, कास्कीमा पनि ज्ञापन पत्र बुझाइसकेका छन् ।

मध्यपहाडी लोकमार्गको यात्राका क्रममा एमाले अध्यक्ष ओलीले ठाउँठाउँमा सभा राखेका छन् । तर, कास्कीको विवादित खण्डमा भने कुनै कार्यक्रम राखिएको छैन ।

२१ मंसिरमा पर्वतखण्डमा जनसभा गर्ने एमालेको तालिका छ । त्यहाँ कास्कीका कार्यकर्ताहरु पनि सहभागी हुने अध्यक्ष मनबहादुर गुरुङले बताए । मध्यपहाडीको विवादित क्षेत्रका बासिन्दाको गुनासो पनि सुन्ने प्रयास गरिने उनको भनाइ छ ।

‘यो यात्रा स्थानीयका समस्या, गुनासो, कहाँ के भइरहेको छ भन्ने सुन्ने नै हो । अध्यक्षज्यूलाई प्रभावितहरुको गुनासो राख्न हामी सक्दो प्रयास गर्ने नै छौं’, उनले भने, ‘उहाँले सम्वाद गर्नुहुन्छ ।’

अध्यक्ष गुरुङले विकासको नाममा राज्यले कसैलाई पनि सुकुम्बासी नबनाउने दाबी गरे । उनले भने, ‘जनतालाई समस्या नपर्ने गरी कमभन्दा कम क्षतिमा कसरी काम गर्न सकिन्छ, समस्या के छ भनेर जनताको कुरा सुनेर त्यसलाई विधिसम्मत समाधान गर्ने हो ।’


Source: Online Khabar
Comment As:

Comment (0)