•   Saturday, 19 Oct, 2024

विपिन जोशीको रिहाइका लागि कतारसँग परराष्ट्रमन्त्री साउदको आग्रह

this
Generic placeholder image
  

१९ मंसिर,काठमाडौं। हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् ।

मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा भेट गरी जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।

हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन मन्त्री साउदले कतारी राजदूत अन्सारीसँग आग्रह गरेका हुन् ।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको जानकारी दिँदै नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको बताए ।

‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ । परिस्थिति जटिल छ । यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ’, परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, ‘हामीले बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौं।’

मन्त्री साउदले यसअघि ८ मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै उनले ७ मंसिरमा इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले १० डिसेम्बरदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवलायले जनाएको छ ।

मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाटलगायत विषयमासमेत छलफल भएको थियो ।


Source: Online Khabar
Comment As:

Comment (0)